लुम्बिनी,२२ कार्तिक ।
लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले बाैद्ध विद्वानहरूलाई भगवान गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गरेका छन् । भारत सरकारकाे आयाेजनामा नयाँ दिल्लीमा भएकाे प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बाेधन गर्दै डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफुहरू आतुर रहेकाे बताएका हुन् ।

एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बाैद्ध परम्पराहरूकाे बारेमा छलफल गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उनलेे विश्वास व्यक्त गरे ।

उनले बाैद्ध शिक्षाकाे माध्यमबाट एसियालाई विकसित बनाउन सकिने बताए । बुद्ध मार्गले कला, साहित्य, बस्तुकला र ध्यानकाे माध्यमबाट सम्पूर्ण एसियालाई जाेडेकाे उनकाे भनाइ छ ।

एसियाली मूलुकहरूमा बुद्ध धर्म र बाैद्ध शिक्षाकाे विभिन्न तरिकाले अनुसरण भइरहेकाे बताउँदै डा.लामाले एक चक्रवती राजाले धम्म शिक्षाकाे माध्यमबाट संसाभर राज गरेकाे स्मरण गरे ।

बुद्ध धर्म र बाैद्ध शिक्षालाई विशेष महत्त्व दिएर कार्यक्रमकाे आयाेजना गरेकाे भन्दै उनलेे भारत सरकारलाई धन्यवाद दिए ।