पोखरा,२० कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृमन्त्री रवि लामिछाने पक्राउकाे विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना प्रदर्शनकारी पाेखराबाट पक्राउ परेका छन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको थियो । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि
प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । त्यस क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न राेकेकाे छ ।
रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे बहस भइरहेका बेला अदालत अगाडि उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि संगठित अपराध मुद्दामा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






