बुटवल,१५ कार्तिक ।
भैरहवाबाट उडान भर्ने सर्तमा थाइ एयर एशियाको निलम्बन फुकुवा भएको छ। उसले नोभेम्बर ३ अर्थात कात्र्तिक १८ गतेबाट भैरहवामा २ उडान गर्ने गरि नेपाल नागरिक उड्यन प्राधिकरणमा उडान तालिका पेश गरेको थियो। जस अनुसार प्राधिकरणले काठमाडौंको राकिएको सड्युल फुकुवा गरेको हो। भैरहवाबाट उडान सुरु गरेपछि मात्र उसले काठमाडौं उडान भर्न पाउने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए। ‘काठमाडौ र भैरहवाको उडान संगसँगै हुनुपर्छ। एप्रुभ सेड्युल अनुसार भैरहवाको उडान रोकिएमा काठमाडौँको पनि उडान रोकिन्छ।’ उनले भने ‘त्यो सर्तमा हामीले रोकिएको सेड्युल फुकुवा गरेका छौं ।’

विन्टर सेड्युलमा थाइ एयर एशीयाले बैंकक-भैरहवा २ र बैंकक-काठमाडौँ २ वटा गरी सातामा चार उडान गर्ने छ। आइतबार र विहिवार भैरहवामा उडानको सेड्युल तय गरिएको छ। त्यस्तै सोमबार र शुक्रबार काठमाडौं उडान गर्ने अनुमती पाएको छ। आइतबार थाइ एयर एसीयाको भैरहवा उडान नभएमा उसले सोमबार काठमाडौँमा उडान भर्न पाउने छैन। त्यस्तै विहिवार जहाज भैरहवा नआए सुक्रबार काठमाडौँ पनि आउन पाउने छैन ।

गत आइतबार विन्टर सेड्युल अन्तर्गतको अनुमती विना नै थाइ एयर एशियाको जहाज यात्रुसहित बैंककबाट काठमाडौँ आएको थियो। त्यसपछि सो जहाजलाई प्राधिकरणले उडान निलम्बन गरेको थियो। भैरहवाबाट सिधा उडान गर्ने सर्तमा काठमाडौँबाट समेत अहिले उडान अनुमती पाएको हो । उसले स्पष्टीकरण पेश गर्यो गर्नुका साथै माफी मागेर पछि थाइएयर एशियालाई उडानको अनुमती दिएका प्राधिकरणका सहप्रवक्ता भुलले बताए ।