काठमाडौँ,१४ कार्तिक ।
विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेल नेपालले जितेको छ । लगातार ७ खेलमा जितविहीन रहेको नेपालले स्कटल्यान्डलाई हराएर महत्वपूर्ण २ अङ्क हासिल गर्यो ।

यससँगै नेपालले १० खेलबाट ४ अङ्क बनाएको छ । अमेरिकाको डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको नेपाल सामू स्कटल्यान्डले जितका लागि १ सय ५४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा नेपालले उक्त लक्ष्य २९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्दै पाँच विकेटको जित निकाल्यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले ।

त्यस्तै एनलाई गुल्सन झाले २५ रनमा अविजित साथ दिए। त्यस्तै अनिल साहाले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए ।

त्यस्तै कुशल भुर्तेलले २५ रन बनाएका थिए । स्कटल्यान्डका लागि ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १-१ विकेट लिंदा ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो । उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो ।

उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९-१९ रन बनाए । ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिंदा करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २-२ विकेट लिए । आरिफ शेखको नाममा १ विकेट रह्यो ।