काठमाडौँ,१३ कार्तिक ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको विराधेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोड्न खाजेपछि प्रहरीले सांसदसहित ३३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सांसद अशोक चौधरी,
बिरेन्द्र श्रेष्ठ, प्रदिप विष्ट, सुरेश पोखरेल, ध्रुब ढकाल ,नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल प्रिया, सवी खड्का, बुद्धरत्न महर्जन रहेका छन् ।

यस्तै दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी नवराज मुडबरीलाई पक्राउ गरिएको रास्वपाले जानकारी दिएको छ।उनीहरुलाई विभिन्न प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली बिरूद्व चर्का नाराबाजी गरेका थिए ।

रास्वपाको प्रदर्शनका कारण त्यस क्षेत्रको यातायात प्रभावित भएको थियो ।

निषेधित क्षेत्रमा प्रवेश नगर्न भन्दै प्रहरीले माइकिङ पनि गरिरहेको छ । निषेधित क्षेत्रमा प्रवेश गरे बल प्रयोग गर्ने चेतावनीसमेत प्रहरीले दिएको छ ।

सभापति रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।