काठमाडौं,११ कार्तिक ।
नेपालमा उडान अनुमतिपत्र ‘एक्स्पायर’ (म्याद गुज्रिसकेको) थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न दिइएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले केही समय होल्ड गराएपछि बैंककबाट आएको उक्त जहाजलाई अवतरण अनुमति दिएको हो ।
काठमाडौंको आकाशमा एक दर्जन फन्को मारेपछि थाई एयर एसियाको उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले जहाजमा सवार यात्रुको जिउज्यानको सुरक्षा र मानवीयताका आधारमा काठमाडौंमा अवतरण अनुमति दिइएको थियो ।
जहाजका यात्रुको सुरक्षालाई ख्याल गर्दै उक्त जहाजलाई विमानस्थलमा अवतरण अनुमति प्रदान गरिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
थाई एयरको उक्त जहाजको उडान अनुमति समय सीमा नाघिसके पनि अहिलेसम्म उसले नवीकरण नगरेको भन्दै उनलेे अनुमतिपत्रकाे म्याद सकिए पनि साे जहाज अवतरणका लागि विमानस्थलमा आएको बताए ।
लामो समय होल्ड भएपछि यात्रुको जिउ ज्यानको सुरक्षाका लागि अवतरण गराइएको उनको भनाइ छ । भूलका अनुसार अब यो जहाज चार्टर्ड उडान गरेर बैंकक जाने छ । उडान अनुमति नवीकरण नगरेसम्मलाई उडान अनुमति नदिने चलन छ ।





