भक्तपुर,१० कार्तिक ।
साहित्यपोस्ट (इ) दैनिकको माउ कम्पनी शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यपोस्ट कार्यालयका प्रबुद्ध साहित्यकारहरूका माझ विचोचन भएको हो ।

पुस्तककाे शुक्रबार भक्तपुरमा एक कार्यक्रमकाबीच प्रमुख अथिति प्रा.डा. सुष्मा आचार्य, कार्यक्रम संयोजक प्रा.डा. सनतकुमार वस्ती, कवि राम अधिकारी र साहित्यपोस्टका प्रधानसम्पादक तथा अध्यक्ष अश्विनी कोइरालाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

विमोचनपछि प्रमुख अथितिका रूपमा बोल्दै सुष्मा आचार्यले कवि अधिकारी आफ्नो सुयोग्य छात्र भएको स्मरण गर्दै त्रिभुवन विश्वविद्यायलमा कविसँग बिताएका दिनहरूको स्मरण गर्दै उनलेे भनिन् ‘राम मेरा विद्यार्थी मात्रै होइनन्, सुयोग्य शिष्य पनि हुन् । अध्ययन सकेको यत्तिका वर्षसम्म पनि हामी गुरुमा र विद्यार्थीभन्दा माथि आमाछोराकै रूपमा प्रेम र वात्सल्यमा छौं । सबै शिक्षकलाई यस्ता सुयोग्य शिष्य प्राप्त गर्ने भाग्य हुन्न ।’

त्रिभुवन विश्वविद्यालयमा ४२ वर्ष प्राध्यापन गरिसकेकि आचार्यले आफ्ना हजारौं शिष्यहरू मध्ये केही रामहरू विशेष विद्यार्थी भएको स्मरण गरिन । ‘मैले मेरा सबै विद्यार्थीहरूलाई आफ्ना सन्तानकै रूपमा बौद्धिक पालनपोषण गर्दै आएकी छु । ती मध्ये कवि राम अधिकारी र उनी जस्ता केही विशेष प्रतिभा भएको अनुभव हुन्छ ।’

एक दर्जन पुस्तककी स्रष्टा रहिसक्नुभएकी आचार्यले कवि राम अधिकारीको कवितामा देश प्रेम, भाषा प्रेम र सरल व्यक्तित्वको प्रतिध्वनि भएको उल्लेख गरे । उनले आगामी दिनमा यस किसिमका कृति ल्याइरहन र अमेरिका बसेर पनि नेपाललाई माया नमार्न सल्लाह दिए ।

एक दशकयता अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका कवि अधिकारी यसअघि पनि पत्रपत्रिकामा कविता र समसामयिक लेख लेख्ने गर्दथे । अमेरिका पुगेपछि रोकिएको उनको लेखन एक दशकपछि पुनः सक्रिय भएको हो ।

कार्यक्रममा उपस्थित विशिष्ट साहित्यकार एवं साधकहरूलाई स्वागत गर्दै पत्रकार तथा समाजसेवी नारायण गिरीले आफू साहित्यकार नभए पनि कविसँगै अध्ययन गर्ने सहपाठी भएका नाताले उपस्थित व्यक्तित्वलाई स्वागत गर्न पाउँदा आफू सुसी भएको बताए ।

पुस्तकलाई सेन्ट जेभियर्स कलेजका नेपाली विषयका अध्यापक देवेन्द्र पौडेलले समीक्षा गरेका थिए । समीक्षक पौडेलका अनुसार पुस्तक सरल भाषामा गम्भीर विषय पस्कने कविता कृति भएको बताउँदै यसले नेपालको राजनीति, सामाजिक र यहाँको परिवेश गहिरोसँग समातेको बताए । किताबमा राखिएको पहिलो कविता ‘खुसी’ले व्यक्त गरेको मानवीय प्रवृत्तिको उनले प्रशंसा गरे ।

पौडेलका अनुसार कवि अधिकारी अमेरिका बसेर नेपालप्रति नोस्टाल्जिक भएका छन् । कृतिमा कहीँ कतै अमेरिका देखिन सक्छ तर त्यसको अन्तर्यमा पनि नेपालनै भेटिने गरेको छ । एउटा कविका रुपमा कवि अधिकारीको ठूलो सम्भावना रहेको पनि समीक्षक पौडेलको भनाइ थियो ।

कार्यक्रममा सहभागी कवि शंकर ढकालले सपना र छायाहरू संग्रहभित्रको ‘जहाँ चोरहरू देश चलाउँछन्’ नामक कविता वाचन गरेका थिए ।

कार्यक्रमको संयोजन गरेका प्रा.डा. सनतकुमार वस्तीले कृतिभित्रका कविताहरू सुनाउँदै, कविको मर्म र भावना संगाल्दै र उपस्थित विद्वत कवि लेखकहरूको उपस्थितिप्रति खुसी ब्यक्तत गरे ।

कार्यक्रमको सभापतिका रूपमा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले नयाँ कविका रूपमा राम अधिकारीको भविष्य उज्जवल भएको बताए । उनले भने, ‘साहित्यपोस्टको उद्देश्य नयाँ कविलाई मञ्च दिने, उहाँहरूका पुस्तक प्रकाशन गर्ने र पुरस्कृत गर्दै नेपाली भाषा साहित्यको उन्नयन गर्ने हो । कवि अधिकारीले हामीलाई यो अवसर प्रदान गर्नुभयो । त्यसका लागि उहाँलाई साहित्यपोस्टको टिमका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’