बुटवल,७ कार्तिक ।  
बुटवल उपमहानगरपालिकामा खानेपानी उपभोक्ता संस्थाको दर्ता र नविकरण गरिने भएको छ ।  

उपमहानगरपालिकाले जलस्रोत(उपयोग) पहिलो संसोधन ऐन,२०८१ को कार्यान्वयन गर्दै खानेपानी उपभोक्ता संस्थाको दर्ता र नविकरण गर्ने भएको हो । उपहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालको अध्यक्षतामा बुटवलमा क्रियाशिल खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले जलस्रोत उपयोग ऐन २०८१ को कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले २०८१ मंसिर मसान्तसम्म खानेपानी  उपभोक्ता संस्थालाई दर्ता र नविकरण गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका भवन निर्माण महाशाखाका प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

उपमहानगरपालिकाले खानेपानी संस्थाको दर्ता र नविकरणबाट जलस्रोत उपयोग ऐन २०८१ को कार्यान्वयनको सुरुवात गरेको उनको भनाई छ ।

खानेपानी उपभोक्ता संस्थाको शुझाब समेतलाई मध्यनजर गर्दै यही मंसिर मसान्तभित्र दर्ता र नविकरणको लागि आह्वान गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।