बुटवल,६ कार्तिक ।
बुटवलको बधशाला सञ्चालन सम्बन्धि बिवादमा कानुन मान्दैनौं भन्नेलाई जिम्मेवार निकायले साथ दिनु आश्चर्यजनक भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
कानुन अनुसार बुटवल उपमहानरपालिकाले प्रदेश सरकारको सहयोगमा निर्माण गरेको आधुनिक पशु बधशालामा खसी बाेका बध गर्नुपर्ने नियम बिपरित मासु व्यवसायी संघ नेपाल रुपन्देहीले आफुहरूलेनै खसी बाेका बध गर्न पाउनुपर्ने माग सहित बधशाला नजाने अडान लिदै आन्दोलन गर्दै आएका छन् ।
मासु ब्यवसायीकाे आन्दोलनमा केही जिम्मेवार राजनीतिक दलहरूले साथ दिएको भन्दै बुटवल उपमहानगरपालिकाले कानुन मान्दैनौं भनेर आन्दोलित ब्यवसायीलाई साथ दिनु आश्चर्यजनक भएको उपमहानगरपालिकाका प्रमुख प्रशनसकीय अधिकृत मित्रमणी खनालले बताए ।
बुटवल उपमहानगरपालिका भित्र रहेका ७१ वटा मासु व्यवसायीहरु मध्ये ४ वटा मात्रै मासु व्यवसायीहरुले रातको समयमा, लुकी लुकी पशु बधशालाबाट मासु ल्याएर बिक्री गर्दै आएका छन् । यसरी स्वच्छ मासु बिक्री गर्दै आएका व्यवसायीहरुलाई मासु व्यवसायी समितिबाट मासु नबेच्नको लागि ‘धम्की समेत आएको’ भन्दै बुटवल उपमहानरपालिकामा गुनासो गरेका छन् ।
बुटवल उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले स्वच्छ मासुको कारोबार गर्ने व्यवसायीहरुलाई सिन्डीकेट लगाउँदै मासु नकिन्न मासु व्यवसायी संघबाट नै धम्की दिने गरेको गुनासो नगरपालिकामा आएको जानकारी दिए । उनले भने–‘मासु बेच्न रोक्नको लागि व्यवसायी समितिबाट नै व्यवसायीहरुलाई धम्की आएको भन्दै नगरपालिकामा गुनासो आएको छ, हामी यो विषयमा पनि गम्भीर भएका छौं ।’
मासु व्यवसायी समितिमा आवद्ध भएका ७ जना व्यवसायीहरुले अहिले पशु बधशालामा बध गरेको स्वच्छ, प्रमाणित मासु बिक्री गर्दै आएका छन् । दसैंको सोह्र श्राद्धपछि हाल सम्म ५० लाखको मासुको कारोबार बधशालाबाट भएको छ । एक जना व्यवसायीले ४४ वटा सम्म खसी बोका बधशालामा बध गरेर बिक्री गर्दै आएका छन् ।
बुटवल उपमहानरपालिकाका एक अधिकृतका अनुसार मासु व्यवसायी समितिबाट बधशालाको मासु बिक्री गरेको भन्दै व्यवसायीलाई २ लाख रुपैयाँ जरिवाना गर्ने धम्की आएको ती व्यवसायीले गुनासो गरेको बुटवल टडेलाई जानकारी दिए । उनले भने–‘बधशालाको मासु बिक्री नगर्न, समितिबाट नै उर्दी जारी भएको रहेछ, यसमा हामीले बेचेको पाइएमा २ लाख जरिवाना गर्ने भन्दै व्यवसायीलाई तर्साउने काम भएको पाइएको छ,’ ती अधिकृतले भने ।
यता, बुटवल उपमहानपालिकाले भने मासु व्यवसायीहरुसंग छलफल र संवाद गरी अवको ३ दिनमा लिखित रुपमा मासु व्यवसायीहरुको खास समस्या के हो ? किन बधशालामा गएर मासु खरिद बिक्री, बध नगर्ने हो ? भन्ने विषयमा जवाफ माग गरिएको जनाएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मित्र मणि खनालले यो विषयमा सर्वदलीय, सर्वपक्षीय छलफल गरी लिखित रुपमा कारण र समस्या समाधानको उपाय खोजी गरिएको जानकारी दिए ।
बधशालाको विषयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले कानूनी प्रक्रिया नै पुरा नगरी सुरुवाती चरणमा बधशालामा सहभागी हुन आएको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिको कार्यपालिका बैठकबाट २०८० जेठ ३ गते ठेक्का रद्द गर्ने निर्णय गरेको र पछि दुई पटक सम्म पनि उक्त प्रालि उक्त ठेक्का प्रक्रियामा समावेश नभएको कारण पछिल्लो समयमा मुक्तिनाथ लाईभस्टक बैंकले उक्त बधशाला सञ्चालन गरिरहेको जनाएको छ ।
उपमहानरपालिकाका योजना महाशाखा प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले अहिलेको अवस्थामा ५ बर्षको लागि सार्वजनिक खरीद ऐन बमोजिम सेवा सञ्चालनको लागि ठेक्का दिइसकेको अवस्थामा ठेक्का रद्द गर्ने र अर्को कम्पनीलाई दिने अवस्था नभएको बताए ।
उनले ५ बर्ष पछि नयाँ ढंगबाट जाने समेत जानकारी दिए । मासु व्यवसायीहरुले स्थापना गरेको कम्पनी बुटवल मासु उत्पादन तथा प्रशोधन कम्पनी प्रालिसंगै सुरुवाती दिनमा मासु बध गर्ने अनुमति पत्र नभएको, प्राप्त मात्रामा टेन्डर आह्वान नभएको, सार्वजनिक निजी साझेदारी अन्तर्गत व्यवसायीहरुले सञ्चालन गर्न दावी पेश गर्दा कानूनीरुपमा व्यवसायीहरुको लगानी नभएको, सञ्चालनको लागि पनि व्यवसायीहरुले कुनै पनि लगानी नगरेको, साथै बीड डकुमेन्ट पेश गर्दा बर्षको निश्चित रकम भन्दा पनि नाफाको ५ प्रतिशत मात्रै दिने गरी बीड प्रस्तुत गरिएको लगायतका कारण देखाउँदै कार्यपालिका बैठकबाट उक्त ठेक्का सम्झौता मनसाय रद्द गरिएको थियो ।
बधशालाको मासु बेच्ने व्यवसायीलाई व्यवसायीकै २ लाख जरिवाना !
बुटवल उपमहानरपालिकाले प्रदेश सरकारको सहयोगमा निर्माण गरेको पशु बधशालाबाट खसी, बोकाको मासु बिक्री गर्दै आएका मासु व्यवसायीलाई मासु व्यवसायी समितिबाट २ लाख जरिवाना तोकिएको पाइएको छ ।
स्वच्छरुपमा उपभोक्ताहरुलाई बधशालामा पशु चिकित्सकबाट प्रमाणित गरेको मासु ल्याएर आफ्नो मासु पसलमा बिक्री गर्दै आएका बुटवल उपमहानरपालिकाका २ जना व्यवसायीलाई मासु व्यवसायी समिति नेपाल रुपन्देही शाखाबाट उल्टै कारवाही गरिएको हो । कारवाही सहित २ लाख रुपैयाँ जरिवाना लगाउने गरी चिठ्ठी समेत काटेको पाइएको छ ।
बुटवल उपमहानरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बुटवल १० रामनगरमा रहेको बुटवल औद्योगिक क्षेत्रको जग्गामा २५ वर्षको लागि भाडामा लिएर पशु बधशाला सञ्चालनमा रहेको छ । अहिले मुक्तिनाथ लाइभस्टक बैंकले सञ्चालन गर्दै आएको यो पशुबधशालामा प्रति खसी बोका, पशु स्वास्थ्य ऐन अनुसार चेक जाँच गरेर मात्रै ७ सय रुपैयाँमा बध गरेर व्यवसायीहरुलाई दिने गरिदै आएको छ ।








