काठमाडौं,२ कार्तिक ।
प्रतिपक्षी दलहरुले सरकार जनताप्रति उदासिन भएको निश्कर्ष निकालेका छन् । आज नयाँ बानेश्वरमा बसेको प्रमुख प्रतिपक्षिसहित विपक्षी दलको बैठकले बाढीपहिरोपछिको उद्धार र राहतमा सरकार उदासीन देखिएको र जनसरोकारभन्दा बढी पार्टीगत स्वार्थलाई प्राथमिकता दिएर अघि बढिरहेको निश्कर्ष निकालेको हो ।

बैठकपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेताले यी बिषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने समझदारी भएको बताए ।

सरकारले गम्भिरता नदेखाए विशेष अधिवेशनको माग गर्ने विकल्पमा समेत छलफल भएको बस्नेतले बताए । यस्तै बैठकमा एमालेले पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गादान र साना दल फुटाउने अध्यादेश ल्याउन भएको तयारीबारे समेत छलफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछाने पक्राउ परे सशक्त प्रतिवाद गर्ने निर्णय भएको बताए । कानुनी प्रकृयाबाट अनुसन्धानमा सघाउन सभापति तयार भए पनि कर्मचारी र प्रहरी प्रशासनको दुरुपयोग गरेर राज्यले सभापति पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताए ।

बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले पुर्व गृहमन्त्री लामिछाने पक्राउ पर्नसक्ने बताएका थिए । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महन्त ठाकुर, प्रभु साह, शक्ति बस्नेतलगायत नेता सहभागी भएका थिए ।