काठमाडौँ,२९ असाेज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी राजधानी काठमाडौबाट पक्राउ परेका छन् ।

उनलाई बाटोमा हिँड्दा हिँड्दै बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । साँझ सवा ६ बजेपछि प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ ल्याएको उनले जानकारी दिए ।

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

आफूले प्रहरीलाई आफ्ना बारेमा जानकारी दिए पनि दुर्व्यवहार गरेर पक्राउ गरेर मालिगाउँ ल्याइएको उनलेे बताए ।

सडकमा हिँड्दा हिँड्दै हातको मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार भएको भन्दै उनले मोबाइलमा भएका तस्बिरहरु स्थायी रुपमै हटाउन लगाएकोसमेत बताए ।

बालुवाटारको सडकमा बसेर चार जना महिलाले कुर्मीको न्यायका लागि नाराबाजी गरिरहेका थिए ।

शिवाकोटीसहित सात जना पक्राउ परेका हुन् । शिवाकोटीलाई मेडिकल चेकअपका लागि वीर अस्पताल लगिएको छ । उनी आफन्तकोमा बडादशैँको टीका र जमरा थापेर घर जाँदै गरेको बताइएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले आज मात्रै गुनासो नआउनेगरी काम गर्न निर्देशन दिएकै दिन बिना कसुर बाटोमा हिड्दै गरेको अवस्थामा प्रहरीले सिवाकोटीलाई पक्राउ गरेको हो ।