काठमाडौं,२९ असाेज ।
मनसुन बाहिरिएर अहिले नेपालमा ‘पोष्ट’ मनसुन चलिरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।
मौसमविदले मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको बताएका छन्। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । संघीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिकरूपमा बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात सोमबार र मंगलबार न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस हाराहारी छ। ‘काठमाडौँमा चिसो निरन्तररूपमा बढिरहेको छ’, मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’
काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घट्ने क्रम छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घटेको बताए। पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।









