पाल्पा,२५ असाेज ।
परम्परागत संस्कृति संरक्षण गर्ने उदेश्यले पाल्पा जेसिजले जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ ।

नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा तानसेन नगरपालिका वडा नं ५ वडा कार्यालयको समन्वय र ससस्त्र प्रहरीसँगकाे सहकार्यमा जेसिजले २ वटा लुठे पिङ निर्माण गरेको हो ।
पिङको एक कार्यक्रमकाबिच लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । पिङको उद्घाटन गर्दै प्रदेश सभा सदस्य रानाले परम्परागत लुठे पिङ हराउँदै जान थालेको अवस्थामा जेसिजले पिङ निर्माण गरेर अनुकरणीय कार्य गरेको बताए । पिङले चाडपर्वकाे रौनक बढाउनुको साथै आन्तरिक पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा टेवा पुग्ने उनले विश्वास ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधी, समाजसेवी, सुरक्षा निकायका प्रमुखहरु, जेसिजका पुर्व र वर्तमान पदाधिकारी, पत्रकार उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको थियो । जेसिजका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता,महासचिव विजय कार्कीको सञ्चालनमा कार्यक्रम भएको कार्यक्रम संयोजक एन्जिना खनाल बाेहाेराले जानकारी दिइन् ।






