हेटौंडा,२२ असाेज ।
पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरभित्र लुकाइराखिएको गाँजा तस्करी गरेको आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार विहान हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट गाँजासहित ट्यांकरलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

उत्तरी मकवानपुरको पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ७ ख १७७१ नम्बर ट्यांकर चेक गर्ने क्रममा ३ सय ९२ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा ट्यांकरचालक मकवानपुरको मनहरी गाउँपालिका वडा–९, ज्यामिरे बस्ने वर्ष २६ का रोशन पुरी र सोही स्थानका सहचालक वर्ष २२ का धनबहादुर मल्ल रहेका छन् ।

ट्यांकरका ५ डिब्बामध्ये ३ नम्बर डिब्बाभित्र २५ वटा पोका बनाइ प्लाष्टिकले बेरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले बताएको छ ।