काठमाडौं,१७ असाेज ।
क्यानडामा जारी त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गर्दा ओमान नेपालसँग लगातार दोस्रो टी-२० मा पराजित भयो ।
जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि क्यानडा र ओमानबीच अन्तिम खेल हुन बाँकी छ । यो खेलमा क्यानडाले जिते उसले उपाधि उचाल्ने छ । यदि ओमानले जितेमा नेट रनरेटका कारण नेपाल च्याम्पियन हुने सम्भावना कायमै छ ।
किंग सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडैल ४४ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ५६ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन बनाए। त्यस्तै देव खनालले १८ रन बनाउँदा आसिफ शेख १६ तथा अनिल साहा ११ रनमा आउट भए। त्यस्तै आठौं नम्बरमा ब्याटिङका लागि आएका कुशल भुर्तेल ११ रनमा पेभिलियन फर्किए। ओमानका लागि फायाज बटले ३ विकेट लिंदा कलिमुल्लाह सकिल अहमेद र अकिब इलियासले समान १-१ विकेट लिए ।
१ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभमा १ सय १ रनमा अलआउट भयो । उसका लागि जेसन मक्सुदको ३५ रन सर्वाधिक रह्यो । उनी बाहेक कप्तान अकिब इलियसले २२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा प्रतिक अर्थबले १२ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा रोहित पौडेलले २ तथा सन्दीप लामिछाने र रिजन ढकालले समान २-२ विकेट लिए ।
आज सिरिजको अन्तिम खेलमा क्यानडा र ओमान भिड्दै छन्। अङ्क तालिकामा नेपाल र क्यानडा समान ४ अङ्क भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ । ओमान २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ ।








