काठमाडौँ,१५ असाेज ।
गृहमन्त्री रमेश लेखकले वर्षाका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गरी रात्रिबस सञ्चालन नगर्न गरेको निर्देशन पालना नभएको बिषयमा आन्तरिक छानबिन भइरहेको बताएका छन् ।

मंगलबार बसेकाे प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले पूर्वसूचना जारी गर्दा पनि किन रात्रिबस काठमाडौं प्रवेश गर्न रोकिएन भनेर आन्तरिक छानबिन भइरहेको जानकारी गराएका हुन् ।

मौसम पूर्वानुमानको सूचनामा आधारित रहेर बस सञ्चालन नगर्न र नगराउन सूचना जारी हुँदा पनि किन बस सञ्चालन गर्न दिइयो भन्ने सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । धादिङको झ्याप्लेखोलामा बस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

यद्यपि ती सबै सवारीसाधन रात्रीवस भने थिएनन् ।

सो विषयमा गृहमन्त्री लेखकले भने, ‘एडभाइजरी नोट जारी गरेका थियौं, तर त्यस्तो अवस्थामा पनि कसरी रात्रिबस चले भन्ने छानबिन गरिरहेका छौँ । आन्तरिक छानबिन भइरहेको छ ।’ गृहमन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपत्ति आएमा कसरी उद्धार, राहतलगायतका काम गर्ने भन्नेबारे सरकारले तयारी गरेको समितिलाई जानकारी गराए ।