Share this News on Social Networking Pages

दाङ, १४ असोज ।
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएकाे हाे ।

साेमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र २ हजार ३ सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ ।

लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गरिएपछी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख ÷उपप्रमुखहरुको सहभागीता थियो ।

बालबालिकाहरुमा विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो ।

नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँ विकास समितिबाट पूर्ण खोप घोषणा गरी सुरु गरिएको थियो ।