Share this News on Social Networking Pages

काठमाडौं,१४ असाेज ।
आज पनि देशका केही भूभागमा चट्याङसहित हल्कादेखि मध्यम बर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली भई देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका थोरै र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका केही भूभागमा वर्षा हुने भएकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।