Share this News on Social Networking Pages

काठमाडौँ,१३ असाेज ।
अविरल वर्षाका कारण देशका बिभिन्न ठाउँमा गएको बाढी,पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो ।

मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ । प्रहरीले घटनामा अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ ।

बेपत्ताहरूको खोजी कार्य जारी रहनुका साथै उद्धारलाई प्रभावकारी बनाउन लागिपरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार भएको छ ।

अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।