काठमाडौँ,१२ असाेज ।
तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु भएकोछ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । विपदमा परेर हालसम्म ३५ जना घाइते भएकाे सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।
काठमाडौ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको उनलेे बताए ।
त्यस्तै ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उनले बताए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरी पनि परिचालन भएको बताइएको छ ।