Share this News on Social Networking Pages

काठमाडौं,३ असाेज ।
सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको जानकारी दिइन् ।

१७ देशका लागि प्रस्तावित राजदूतहरू बारे समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको जानकारी गराउदै सभापति न्याैपानेले श्रीलंकाका लागि प्रस्तवित राजदुत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले थप कागज मगाउन सचिवालयलाई निर्देशन दिइएको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेका थिए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको लागि फरक मत राखेका थिए ।

समावेशिता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको उनलेे बताइन् । उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताइन् ।

अनुमाेदन भएका प्रस्तावित राजदूतहरूमा चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा रहेका छन् ।

यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।

समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ ।