काठमाडौं,२ असाेज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य एक लाख ४० हजार पुगेको साे पार्टीले जनाएको छ ।
मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा स्थापनाको २६ महिनामा सदस्यता संख्या एक लाख ४० हजार पुगेको जानकारी गराएका हुन् ।
पार्टीका कार्यबाहक महामन्त्री बुर्लाकोटीका अनुसार सबैभन्दा बढी सदस्य संख्या बागमती र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको प्रतिवेदनमा उल्लेख छ । रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, लुम्बिनीमा २३ हजार ३०३, कोशीमा २२ हजार ८५६, गण्डकीमा १९ हजार २०३, सुदूरपश्चिममा १६ हजार ६७७, मधेसमा ११ हजार ४३३ र कर्णालीमा ५ हजार ३८६ सदस्य रहेका छन् ।
रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् । पालिका अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६ पालिका, बागमतीमा ११९ पालिकामा ९३ मा, गण्डकीका ८५ पालिकामा ४२, लुम्बिनीका १०९ पालिकामध्ये ७६ र सुदूरपश्चिममा ८८ मा ५२ पालिकामा संगठन बनेको प्रतिवेदनमा लेखिएको छ ।