काठमाडाैं,२८ भदौ ।
वीर अस्पतालमा आजदेखि सघन र शल्यक्रिया सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे ।

यसअघि विवसं २०७२ सालको भूकम्प पछि वीर अस्पतालको बर्न वार्ड बन्द रहेको थियो । नेपालमै जलनको उपचारको सुरूवात गर्ने वरिष्ठ प्लाष्टिक सर्जन डा केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले जलन उपचार केन्द्रको नामकरण गरेको हो ।

आजबाट सञ्चालनमा आएको जलन उपचार केन्द्रका लागि तीनवटा अप्रेसन थिएटरसहित पाँच आइसियू बेड र १० वटा जनरल बेड सहित कुल १५ बेड रहेको छ । अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ भन्दै जलेका बिरामीलाई अन्यत्र रिफर गर्नु नपर्ने गरी सेवा दिने बताए ।

सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०र८१ मा बजेट विनियोजन गरेको थियो। दुई करोड ८० लाख हाराहारीमा जलन उपचार केन्द्रको निर्माण गरिएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा रोकिएको जलन उपचार वार्डलाई सबै सुविधा सहितको उपचार केन्द्रको रुपमा विकास गरेको बताए । ‘यहाँ अब जलन उपचारका लागि शल्यक्रिया मात्रै होइन, फिजियोथेरापी, रिहाव तथा बिरामीको लागि मनोपरामर्शका सुविधा समेत राखिएको छ,’ उनले भने ।

डा. बस्नेतले वीर अस्पताल सबै किसिमको स्वास्थ्य समस्याहरुको उत्कृष्ठ ढंगले उपचार दिने थलोको रुपमा विकास हुने क्रमलाई आजबाट सञ्चालनमा आएको सेवाले थप मद्धत पुगेको बताए । हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ ।

अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ। उद्घाटनपछि बिरामीको उपचारका लागि २४ सै घन्टा जलन उपचार केन्द्र खुला भएको छ ।

जलनका बिरामीलाई एक लाख रुपैयाँ सहुलियत दिने तयारी

शुक्रबार वीर अस्पतालको जलन केन्द्र उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसका गम्भीर घाईते बिरामीको उपचारमा १ लाख रुपैया दिने तयारीमा सरकार अघि बढेको बताएका छन् । ‘अहिलेसम्म हामीले ८ वटा कडा रोगका लागि उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेका थियौँ । अब त्यसमा जलन उपचार पनि थपेर ९ लाख रुपैयाँ पु¥याउँदै छौँ । यस सम्वन्धी प्रस्ताव स्वास्थ्यले अघि बढाईसकेको छ,’ मन्त्री पौडेलले भने ।

त्यसो त अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् ।निर्देशक डा पौडेलले १ लाख रुपैयाँ सहुलियत पाए, बिरामीका लागि ठूलो राहत हुने पनि बताए ।

उदघाटनको अवसरमा मन्त्री पौडेलसंगै जलनमा परेकी सांसद विन्दवासिनी कंसाकार, डा केडी जोशी, त्रिवि शिक्षण अस्पतालका प्राडा ईश्वर लोहनी लगायतको उपस्थिति थियो ।