बाग्लुङ,२८ भदौ ।
बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

मृतक अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन । मृतक एक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत भुङखानीमा भएको दुर्घटनामा एक जना घाइते गम्भीर छन् ।

रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खसेर दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ लगिएको छ ।
गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए ।