बुटवल,२७ भदौ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहत कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्का क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार भारतबाट रुपन्देहीको भगवानपुर नाका हुँदै भन्सार छली तथा अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु. १५ हजार घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका थिए ।
सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले क्षेत्रीलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
अनुसन्धानको क्रममा प्रहरी हवल्दार क्षेत्रीले घुस माग गरी लिएको पुष्टी भएकोले बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।





