काठमाडौं,२६ भदौ ।
हास्य कलाकार सुलेमान शंकर (ईकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । उनी कलाकार भिषामा युरोप पठाउने भन्दै लाखौँ रकम असुल गरेको आरोपमा पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई मंगलबार काठमाडौं बूढानीलकण्ठबाट पक्राउ गरेको हो । ब्युरोका एसपी होविन्द्र बोगटीका अनुसार सूर्यमानले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानडा,अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको खुलेको छ ।
उनको ग्लोबल आईएमआई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मा गरेको प्रहरीले जनाएको छ । उनीमाथि सीआईबीले थप अनुसन्धान अघि बढाएको छ । यसअघि पनि उनी अनलाइन बेटिङ प्रकरणमा पक्राउ परेका थिए ।






