रूकुम,२४ भदौ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेका छन् ।

रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन् ।

उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको हो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।

शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।