काठमाडौँ,२२ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बिपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको प्रतिनिधिमण्डलबिच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ ।

शुक्रबार राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताका बारेमा बृहत् कुराकानी भएको नेपाली कांग्रेस बिपीका महामन्त्री देवेन्द्रप्रकाश पौडेलले जानकारी दिए ।

विचार मिल्नेहरू एक ठाउँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा घनीभूत छलफल भएको छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेस बिपीका महामन्त्री देवेन्द्रप्रकाश पौडेल र हेमन्त मल्ल, नेताहरू पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्की लगायत थिए भने राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी थिए ।

नेपालमा संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा जान केशरबहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालसँग कार्यगत एकता गर्ने सहमति गरेको नेपाली कांग्रेस बिपी साेही एजेन्डा बाेकेकाे राप्रपासँग पनि आन्दोलनको बारेमा छलफल भएको बताइएको छ ।