काठमाडौं,२२ भदौ ।
आज दिउँसो देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाकाे अनुमान छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज सूर्योदय बिहान ५ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।





