बागलुङ,२१ भदौ ।
बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले माेटरसाइकल र स्कुटर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र साेही ठाउँका २२ वर्षीय अवेशिक रेग्मी रहेका छन् ।

गएराति बान्द्रे खोलाको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरलाई बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । बाढीले बगाएर बागलुङ नगरपालिका–४ बान्द्रेका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

बागलुङ आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । नदी तथा खोला क्षेत्रमा बस्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।