चितवन,१९ भदौ ।
चितवन जिल्लामा डेंगुको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष छन् । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो आएर उपचारका लागि अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो ।
शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर मल्टी अर्गान फेलर उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगुको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।





