बुटवल,१५ भदाै ।
लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा
कपिलवस्तुको बुद्धभुमीमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष रबिन सुनार र सचिव सुरेश पोखरेलको जन्मदिनको अवसर पारेर १ दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको क्लबले जनाएको छ ।

शनिबार कपिलवस्तुको बुद्धभुमी नगरपालिका-४ स्थित भृकुटी माध्यामिक विद्यालयमा सम्पन्न शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टरहरु बाट ४०० भन्दा बढी सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क ल्याब परीक्षण र औषधि समेत वितरण गरिएको क्लबले जनाएको छ ।

बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि पन्थी काे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गतको एरिया १ का एरिया चिफ सुनिल कुँवर लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लगायतका वक्ताहरुले बुटवल बाट विशेषज्ञ डाक्टरसहितको टोली ल्याई कपिलबस्तुमा कार्यक्रम आयोजना गरेकोमा क्लबप्रति आभार व्यक्त गरेका थिए ।

नगर प्रमुख श्रेष्ठले यस्ता खालका सामाजिक कार्यको लागि आवश्यक परेको खण्डमा नगरपालिका र आफू व्यक्तिगत रूपले सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा डाक्टर लगायत आयोजक टोलीलाई सम्मान समेत गरिएको थियो ।