काठमाण्डाै,१२ भदौ ।
प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसद्बीच भनाभन भएको छ ।

आज बसेकाे प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे सशस्त्र विद्रोहलाई ‘हिंसा’ भनेपछि विवाद उत्पन्न भएको हो । सांसद भट्टराईले माओवादी हिंसाका कारण बिजुली उत्पादनमा ढिलाइ भएको धारणा राखेका थिए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति जनाएपछि पनि फेरि भट्टराईले माओवादी विद्रोहलाई एमालेले हिंसाकै रूपमा लिएको बताए । फेरि माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाए ।

भनाभन बढ्दै गएपछि माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गरे । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नेतृत्व गरिरहेको पार्टी एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीकी सांसद एवम् अध्यक्ष रञ्जिता श्रेष्ठले संसद् हेर्न र बुझ्न आएका विद्यार्थीहरू सत्तापक्ष र प्रतपक्षी सांसदहरूको बाझाबाझका कारण उठेर हिँडेको बताइन् । संसद्मा बोल्दै उनले होहल्लाका कारण बालबालिकाको मनोविज्ञानमा संसद्प्रति नकारात्मक धारणा पैदा भएको उल्लेख गरिन् ।