पोखरा,१२ भदौ ।
पाेखरामा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने १७ वटा स्कुल बस कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बस चेक जाँच गर्ने क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बस कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
चेक जाँचका क्रममा सम्पूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घ नगरी सवारी चलाउन सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि ट्राफिक प्रहरीले दर्जन बढी सवारीलाई कारबाही गरेको थियो ।
केही समयअघि तिब्र गतिमा गुडेकाे स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएपछि पाेखरामा ट्राफिक प्रहरीले तिब्र गति र सिट क्षमता भन्दा बढी विद्यार्थी बाेक्ने स्कुल बसलाई कारबाही गर्न थालेको छ ।






