काठमाडौ,१२ भदौ ।
अमेरिकामा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ ।
टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ मृत अवस्थामा फेला परेकी छन् । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् ।
घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
हालसम्म कुनै संदिग्धको पहिचान हुन नसकेको र घटना बारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको छ ।
नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।
अमेरिकामै केही दिन अघि एक नेपाली नर्सकाे हत्या भएको खबर सार्वजनिक भैरहेका बेला फेरि अर्को हत्याको खबर सार्वजनिक भएको हो ।








