काठमाडौँ,११ भदौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले केपी ओली नेतृत्वको बर्तमान सरकार हावा भरिएको बेलुन जस्तै भएको भन्दै जुनसुकै दिन फुट्न सक्ने टिप्पणी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै लुम्बिनी प्रदेशका पुर्व सभामुख समेत रहेका घर्तीले वर्तमान सरकारको नैतिकता र कुसलता उदाङ्गो भएको विभिन्न घटनाक्रमले देखाइसकेको दाबी गरे ।
‘बेचन झा र प्रतीक थापा पक्रने डीआईजी मनोज केसी सरुवामा, गिरिबन्धुमा सरकारको बचाउ, बक्यौता नर्तिने उद्योगमा प्राधिकरण प्रमुखलाई लाइन जोड्न प्रधानमन्त्रीको फर्मान, अपराध कार्यमा संलग्नहरूलाई प्रदेश सरकारको मन्त्री बनाउने जस्ता घटनाले सरकारको नैतिकता र कुशलता उदाङ्गो बनाउँछ,’ उनले भने ।
सांसद घर्तीले प्रशासनिक सङ्घीयता सम्बन्धी सङ्घीय निजामती ऐन पारित हुन नसकेको बताए । उनले यही अधिवेशनमा निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन पारित गरेर देखाउन पनि चुनौती दिए ।





