सल्यान,११ भदौ ।
सल्यानको कालिमाटी गाउँपालिकामा चट्याङ लागेर विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङका कारण मृत्यु भएको वडा अध्यक्ष रवीलाल बस्नेतले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते भएका प्रधाानध्यापक कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । सोमबार अपरान्ह घरनजिकै गाईबाख्रा चराउन गएका कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक दल बहादुर कार्की चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

यसैविच प्रधानाध्यापक दलबहादुरको मृत्युको शोकमा मंगलबार कालिमाटी गाउँपालिका वडा नम्बर १ का सबै विद्यालयमा विदा दिइएको छ । वडा कार्यालयले एक सूचना जारी गरेर वडा भित्रका ११ वटा विद्यालयमा शोक विदा दिइएको जनाएको हो ।