धादिङ,१० भदौ ।
धादिङको आदमघाटनजिकै ठूलो पहिरो खसेर पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-काठमाडौं सडकखण्ड अबरुद्ध भएको छ ।

सोमबार साँझ ५ बजे धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा माथिबाट ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग पूरै ठप्प भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो हटाउन अझै समय लाग्नेछ । थप पहिरो नखसे रातिसम्म हटाएर सवारी खुलाउन सकिने प्रहरीले जनाएको छ ।

सडक अवरूद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको छ । हजारौँ यात्रु बाटैमा अलपत्र छन् ।

उता नारायगढ-मुग्लिन र मुग्लिन-तनहुँ सडक भने सामान्य अवस्थामा सवारी साधन दुईतर्फी चलिरहेकाे प्रहरीले जनाएको छ ।