बुटवल,८ भदौ ।
रूपन्देहीको देवदहमा सामुहिक रूपमा तीजको दर खाएका ३५ जना विरामी परेका छन् । बुधबार रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ स्थित स्थानीय साहारा आमा समूहले आयोजना गरेको दरखाने कार्यक्रममा सहभागीलाई फुड प्वाइजन भएको जनाइएको छ ।
सामुहिक दर खाने क्रममा फुड प्वाइजन भएर ३५ जना विरामी परेको वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापाले जानकारी दिए । पाँच जना पुरुषसहित दरखाने कार्यक्रममा सहभागी ३५ जनामा स्वास्थ्य समस्या देखिएपछि स्थानीय मेडिकल उपचार गरिएको उनलेे बताए ।
बिरामी परेकामध्ये केही निको भइसकेकाे र केही निको हुने क्रममा रहेको वडाध्यक्ष थापाले बताए ।
उनिहरूमध्ये ३ जनालाई थप उपचारको लागि भलुही मेडिकल कलेज पठाईएको मेडिकल संचालक अनिता गिरीले जानकारी दिइन् ।
आमा समुहका सदस्य र बालबालिकासहित ४०-४५ जना दरखाने कार्यक्रम सहभागी भएको र अधिकांश विरामी भएको सहारा आमा समुहका अध्यक्ष सरिता थिङ्गले बताइन् । गाउँमै स्थानीय स्तरमा सबैले मिलिजुली खाना बनाएर दर खाएको भएपनि के कारण सबैजना विरामी हुन पुगे भन्ने पुष्टि हुन नसकेको उनको भनाइ छ ।








