काठमाडौँ,७ भदौ ।
संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजारको बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमन अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

चिनी, चामल, तेललगायतका खाद्य वस्तुहरुको कालो बजारी, अस्वाभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले जानकारी दिए ।

त्यसैगरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा विस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सभापति खानले चिनीलगायतका कुनै पनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए ।

‘चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथ मूल्य पसलहरु मुलुकको विभिन्न स्थानमा विस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने‚’ उनले भने, ‘समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुनः जानकारीका लागि पत्रदेखि पठाउने। चिनीको अभाव हुन नदिनेगरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने ।’

बैठकमा सांसदहरुले खाद्यवस्तुको अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द बरालीले उपभोक्ताको ज्यानै जाने भएकाले सरकारले खाद्य वस्तुमा हुने मिसावट नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताए। उनले बजारमा खाद्य वस्तुको अभाव हुन नदिनेगरी सरकारले बजारको अनुगमनको काम गर्नुपर्ने बताए ।

रास्वपा सांसद डोलप्रसाद अर्यालले बिचौलियाहरुले बजारको रजगज गर्न नपाउने गरी सरकारले बजार अनुगमन गर्नुपर्ने बताए। उनले आम उपभोक्ताको हितसँग सम्बन्धित निकायहरुले पनि बजार अनुगमनको काममा ध्यान दिनुपर्ने बताए ।

सांसद अर्यालले बजारमा आम उपभोक्तामाथि ठगी गर्ने काम चाडबाडका बेला बढी हुने भएकाले त्यसमा पनि सरकारले कडा निगरानी राख्नुपर्ने बताए ।