तनहुँ,७ भदौ ।
तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट भारतीय नम्बर प्लेटकाे बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।
घटनास्थलबाट दिउँसो १ बजेसम्म १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।
उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपक कुमार रायले बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।
घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।






