काठमाडौँ,५ भदौ ।
सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न राष्ट्रियसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।
बुधवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनै पनि संस्थामाथि कडा कारबाही हुनेगरी तत्काल कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए ।
उनले गरिबको पैसामा मोज गर्ने ठगहरुलाई तत्काल कडा कानून बनाएर कारबाही गर्नमा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
‘यो एउटा आन्दोलनकै रुपमा अगाडि आउनुपर्यो कि बदमासी गर्नेहरुलाई सजाय नै गर्नुपर्यो। सजायमात्रै होइन, यिनको प्रपर्टी नयाँ कानून बनाएर तुरुन्तै कब्जा गर्नुपर्छ‚’ सांसद सुवेदीले भने, ‘र पीडितलाई त्यो पैसा फिर्ता गराउनु पर्छ। गरिब जनताको पैसामा मोज गर्नेहरुलाई कडाभन्दा कडा कानून बनाएर जानुपर्छ भन्ने मलाई लाग्छ ।’
प्रतिपक्षी नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले सदाचार नीति लागू गर्दै मुलुकमा विद्यमान भ्रष्टाचारलगायत अनैतिक कामहरु अन्त्य गर्नमा सरकार र संसद दुवैले जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले नयाँ पुस्तालाई सदाचारको नीतिअनुसार अघि बढाउन नसकेको मुलुकको विकास र समृद्धि सम्भव नहुनेसमेत स्पष्ट पारे ।
‘सदाचार नीति संसद र सरकारमा पहिला लागू हुनुपर्छ। यसअन्तर्गत चलेनौँ भने हाम्रो शिर उँचो पनि हुँदैन । मुलुकले विकास र समृद्धि पनि हासिल गर्न सक्दैन‚’ सांसद रिजालले भने, ‘हामीले युवाहरुलाई सदाचारको बाटामा अगाडि बढाउनु पर्छ । त्यसका लागि नैतिक शिक्षा विद्यालय तहको पाठयक्रममा समावेश गरेर नै अघि बढ्नुपर्छ ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद वामदेव गौतमले सरकारले सदाचार नीति लागू नगर्ने कुनै पनि निकायमाथि कडा कारबाही हुने व्यवस्था गर्न माग गरे। उनले विद्यालयमा सदाचार नीति नभए अनुदान नदिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।
उनले सहकारी संस्थाहरुले ऋण प्रवाह गर्न नपाउने व्यवस्था पनि सरकारले गर्नुपर्ने आवश्यकता औँल्याए ।





