काठमाडौँ,३ भदौ ।
नेपालले कुल स्वीकृत परिमाणबाहेक थप २५१ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ । भारतको विद्युत्संग सम्बन्धित प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयात स्वीकृति दिएको हो ।

योसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्नेछ । यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ परियोजनाबाट) बाट थप २५१ मेगावाट अर्थात् कुल ९४१ मेगावाट (२८ परियोजनाबाट) बिजुली निर्यात गर्न सकिनेछ ।

नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्दै आएको छ । निर्यातबाट गत वर्ष मात्र १६ अर्ब ९३ करोडको बिजुली बिक्री गरी खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।

भारतले सन् २०२१ अक्टोबरमा पहिलोपटक नेपालबाट ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति दिएको थियो। अहिले यो २४ गुणाले बढेको दूतावासले उल्लेख गरेको छ ।

नेपालले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता नेपालले भारतको रियल टाइम मार्केटमा समेत पहुँच पाइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरिसकेको छ । भारतले भारतका खरिदकर्ताहरुलाई जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ । यसले खरिदकर्तालाई नेपालबाट बिजुली किन्न प्रोत्साहन मिल्ने दूतावासको विश्वास छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताअनुसार नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगवाटसम्म बिजुली बिक्री गरिने उल्लेख छ । दूतावासका अनुसार सम्झौताको पहिलो वर्षमै १ हजार मेगावाट बिजुली निर्यात भइसकेको छ ।

नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौताको चरणमा थियो । गत साउन १३ गते नै हस्ताक्षरको योजना बने पनि पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका कारण हाल उक्त सम्झौता स्थगित अवस्थामा छ ।