काठमाडौं,२ भदौं ।
बँदेलपछि सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ ।

आईतवार बसेकाे प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको जानकारी गराएका हुन् ।

साथै उनलेे कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि बताए ।

सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए । उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्शानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा राखिएको बताए ।

मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण,खानेपानी,जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए । मन्त्रालयले अब वनको कारणले आयोजनाहरुको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको पनि उनलेे समितिलाई जानकारी गराए । उनले सरकाले जलवायु परिवर्तनको विषयमा गम्भिर भएर काम गरिरहेको बताए ।

आगामी कोपमा नेपालको प्रभावकारी उपस्थिति जनाएर जलवायु परिवर्तनको प्रभावको असरबाट पाउनुपर्ने क्षतिपूर्तिका लागि आवश्यक डकुमेण्ट बनाउने काम गरिरहेको उल्लेख गरे ।