बुटवल,१ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा तिज मिलन तथा बुटवलको मावन सेवा आश्रममा आश्रीतलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

संघमा गठित पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले तिजमिलन तथा दरखाने कार्यक्रम गरेको हो भने व्यूटिपार्लर बस्तुगत समिति र महिला उद्यमी बस्तुगत समितिले बुटवलको मानव सेवा आश्रममा आश्रीतलाई तीजको दर खुवाईएको संघले जनाएको छ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले सबै जातजाती, धर्म समुदायका संस्कार र संस्कृतिको संरक्षण गर्दै मौलिकता सहितको पहिचानमा जोड दिए । उनले पछिल्लो समयमा संस्कृतिको मौलिकता हराउँदै गएको बताउँदै कला संस्कृतिको मौलिकताको रक्षाका लागि संवेदनशिल हुनुपर्ने वेला आएको पनि बताए ।
व्यूटिपार्लर बस्तुगत समिति र महिला उद्यमी बस्तुगत समितिले बुटवलको मानव सेवा आश्रममा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला उद्यमी बस्तुगत समितिकी सभापति श्रृष्टि गुरुङले परम्परागत संस्कृतिसंग जोडिएका विषयमा नकारात्मक कुरा मात्रै आउने गरेको बताउँदै राम्रा पक्षको चर्चा धेरै हुन सके नराम्रा कुराहरु निरुत्साहित हुँदै जाने बताइन् ।
उनले नकारात्मक कुरालाई भन्दा पनि राम्रा कुराहरुको अनुशरण गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै व्यूटिपार्लर बस्तुगत समितिकी सचापति रेनु कर्माचार्यले संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी आश्रममा आश्रीतलाई थोरै भएपनि खुसी प्रदान गर्न आश्रममा दर खुवाएकाे बताइन् । कार्यक्रम महिला उद्यमी बस्तुगत समितिकी सचिव सुनिता गिरीको सञ्चालनमा भएको थियो ।
त्यसैगरी पुस्तक तथा स्टेशनरी बस्तुगत समितिको आयोजनामा संघमा गरिएको तिजमिलन तथा दर खाने कार्यक्रममा समितिका सभापति बोधराज शर्माले समितिमा रहेका सदस्यहरुमा आपसी सद्भाव तथा भाईचारा अधिबृद्धिका लागि तीज मिलन कार्यक्रम आयोजना गरिएको बताए ।
पुस्तक तथा स्टेशनरी बस्तुगत समिती समन्वयकर्ता, संघकी कार्यसमिति सदस्य कमला पन्तले यस्ता कार्यक्रमले आपसी सद्भाव भाईचार अभिबृद्धि हुनुको साथै व्यवसायिक क्षेत्रमा आपसी समन्वय समेत बढ्ने विश्वास व्यक्त गरिन् । साे बस्तुगत समितिका उपसभापति प्रकाश भट्टराईको सञ्चालनमा भएको
कार्यक्रममा सम्बन्धित बस्तुगत समितिका पदाधिकारी सदस्यहरु सहित संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।






