काठमाडौँ,३१ साउन ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको छ ।
सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा बचत हिनामिना र दुरुपयोग गरेको आरोप लागेका गुरुङसँग सोधपुछ गरेको समिति सभापति सुर्य थापाले जानकारी दिए ।
‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज सुप्रिम बचत तथा ऋण सहकारी संस्था,बुटवलको प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङलाई समितिको बैठकमा ल्याई सोधपुछ गरिएको छ’, सभापति थापाले भने ।
सहकारीको बचत अपचलन गरेको आराेपमा पक्राउ परेकी गुरुङ २०८० वैशाखमा २ लाख धरौटीमा रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी थिइन् । यसअघि समितिले सहकारीको रकम अपचलनमा संलग्न १० जनाभन्दा बढीसँग बयान लिइसकेको छ ।






