काठमाडौँ,२७ साउन ।
भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् ।
नेपालका परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री नेपाल आएका हुन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
विदेश सचिव मिस्री विमानस्थलबाट भारतीय दूतावास लैनचौर पुगेका छन् । त्यसपछि उनी २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र त्यसपछि ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आइतबार बेलुकी परराष्ट्र सचिव लम्सालले समकक्षी मिस्रीलाई रात्रीभोज दिने छिन् । साेमबार ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि बेलुकी नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।





