एजेन्सी,२६ साउन ।
बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् ।
आन्दोलनकारीहरूले प्रधानन्यायाधीश हसनको राजीनामा माग्दै सर्वोच्च अदालत परिसर घेरेपछि हसनले राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।
कानुनमन्त्री नजरुलले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको भिडिओमा भनेका छन्, ‘हाम्रा प्रधानन्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानुन मन्त्रालयमा आइसकेको छ । हामी यो पत्र ढिला नगरी राष्ट्रपति समक्ष पठाउनेछौं ।’
शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानुनमन्त्री नजरुलले अरु न्यायाधीशको भने राजीनामा नआएको बताए ।
अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए ।
हसनले सर्वाेच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन् ।