काठमाडौं,२४ साउन ।
नेपाली कांग्रेसका सातै प्रदेशका सभापतिहरूले केन्द्रले प्रदेशलाई बेवास्ता गरेको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन् ।

बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार आमन्त्रित सदस्यका रुपमा आफ्नो भनाइ राख्दै उनिहरूले उक्त गुनासो गरेका हुन् ।

प्रदेश सभापतिहरू अमरसिंह पुन, उद्धव थापा, कृष्ण यादव, इन्द्र बानियाँ, शुक्रराज शर्मा,ललितजंग शाही र बीरबहादुर बलायरले संघीयता अनुसार प्रदेश कार्यसमितिको भावना पार्टीले बुझ्न नसकेको गुनासो गरेका छन् ।

पार्टी संरचनामा प्रदेश समितिलाई भूमिकाविहीन बनाइएको उनीहरूको गुनासो थियो ।

१५ भदौदेखि प्रस्तावित १०० दिने सांगठनिक अभियानको प्रदेश संयोजन गर्न पनि सहमहामन्त्रीहरूलाई दिने भए आफ्नो भूमिका कहाँ हुने भन्दै उनीहरूले चासो राखे ।
प्रदेशमा मन्त्री बनाउँदा सम्बन्धित समितिलाई बेवास्ता गरिएको भन्दै उनीहरूले आक्राेस पाेखे ।

‘संघ नीति बनाउने, प्रदेश विकास गर्ने संरचना हो । स्थानीय तह कार्यान्वयन गर्ने संरचना हो । यसअनुसार कांग्रेसले बुझ्न सकेन,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टी बैठकमा भने ।

प्रदेश सभापतिहरूले प्रदेश समितिलाई बोधार्थ कार्यालयका रुपमा मात्रै पार्टीले प्रयोग गरेको बताएका छन् ।

केन्द्रीय सदस्य राजेन्द्र कँडेलले पनि प्रदेशलाई अधिकार नदिइएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारलाई प्रभावकारी बनाउन सरकार हेर्ने संयन्त्र बनाउनुपर्ने बताइन् ।

कर्णाली, मधेशको भ्रमण गर्दा धेरै कार्यकर्ता एवम शुभेच्छुकहरू कांग्रेसप्रति त्यति सन्तुष्ट नभएको पार्टी बैठकमा उनले बताइन् ।

‘पार्टी भित्रको गुटबन्दी वडावडामा पुगेको छ । एमालेसँग, त्यो पनि केपी ओलीको नेतृत्वमा गठबन्धन चलाउन हामीले के कस्तो तयारी गरेका छौं ?’ उनले पार्टी नेतृत्वलाई प्रश्न गरिन्, ‘कस्तो टिम पठाएका छौं ? त्यो टिमलाई सघाउने पार्टीको संयन्त्र खै ?’

अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले वैदिक सनातन धर्मसापेक्ष देश बनाउनुपर्ने मत राखे । कँडेलले संविधान संशोधनको नेतृत्व कांग्रेसले लिएर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र बनाउनुपर्नेमा जाेड दिए ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान संशोधनका विषयमा पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई जानकारी गराउनुपर्ने धारणा राखे ।

बैठकमा प्रमुख सचेतक श्याम घिमिरेले संसदीय गतिविधि र संसदमा पेस हुने विधेयकबारे जानकारी गराएका थिए ।

केन्द्रीय सदस्य राजिव कोइरालाले दुई मुख्य दलको गठबन्धन बनेको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य मोहन बस्नेतले भने नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी–इस्टेट प्रकरणमा दुई महामन्त्रीकाे अभिब्यक्तिले गठबन्धनलाई अफ्ठ्यारो पर्न सक्ने बताए ।