काठमाडौ,२४ साउन ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेकाे समितिको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको हो ।

संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय,नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।

छलफलपछि समितिले नेपालमा हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आए तापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको ठहर गरेको छ । र, उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गर्न/गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।